सिन्धुपाल्चोक, माघ १ गते । प्रमुुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । सिन्धुपाल्चोककोे सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै माकेका अध्यक्ष प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।
प्रमुुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री आज त्यहाँ पत्रकार भेटघाट कार्यक्रमका क्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको भन्दै तातोपानी नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।