काठमाडौं, पुस २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनछेक बहस नसकिएपछि बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा नै रहने हुनुभएको छ । सभापति लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उहाँलाई हिरासतमै राख्ने गरी प्रहरीको जिम्मा लगाएको हो ।

उहाँलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । आज सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएको छ । भोलि मङ्गलबार माघे सङ्क्रान्तिको सार्वजनिक बिदा परेकाले रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्ने र उहाँहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

आज सोमबार थुनछेक बहसका क्रममा रास्वपा सभापति लामिछानेले आफूलाई हिरासतमा नभई घर पठाइदिन आग्रह गर्नुभएको थियो । उहाँले आफू घर जान चाहेको बताए पनि आदेश नआउन्जेललाई हिरासतमै रहने गरी इजलासबाट आदेश भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको एकल इजलासमा सो मुद्दामा बहस भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुट्नुभएका रवि आइतबार आफै काठमाडौँ अदालतमा उपस्थित हुन पुग्नुभएको थियो । उहाँ बयान आइतबार भए पनि बहस हुन सकेको थिएन ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा रविसहित ३९ अभियुक्तविरुद्ध मुद्दा चलिरहेको छ । कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको थियो । उक्त सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।