काठमाडौँ, पुस २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति लामिछानेलाई आज १० बजे इजलासमा उपस्थित गराउने गरी हिजो न्यायिक हिरासतमा राख्न आदेश गरेकोले आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो ।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा हुनुभएको थियो । कास्कीबाट छुटे पनि शुक्रबार साँझ काठमाडौँ आइपुग्नुभएका सभापति लामिछमने हिजो आइतबार जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित हुनुभएको हो ।