काठकाडौँ, पुस २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै सभापति लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि अदालतले उहाँलाई प्रहरीको जिम्मा लगाएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।
“काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा हुनुभएका सभापति लामिछाने आज काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुग्नुभएको हो ।