म्याग्दी, पुस २८ गते । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरि –७ हाडेभिर र मालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा पुल निर्माण भएको धवलागिरि –७ का वडासदस्य रामबहादुर खत्रीले बताउनुभयो ।

पुल निर्माण भएपछि दुई घण्टाको घुराउरो बाटो १५ मिनेटमा छोटिएको छ । पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् । पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।