तुलसीपुर, पुस २७ गते । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा आज १२ किलोमिटरको दौड प्रतियोगिता भएको हो । लिगलिग कोटको राजा दौडबाटै छानिने प्रथाको सम्झना तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत पहिलो हुनुभयो । उहाँले ५१ मिनेट ३१ सेकेन्डमा पार गर्नुभएको थियो । उहाँले रु २० हजार प्राप्त गर्नुभयो । दोस्रो हुनुभएका विशालकुमार महतले रु १५ हजार र तेस्रो हुनुभएका एकेन्द्र कार्कीलाई रु १० हजार र सान्तवना पुरस्कार खगिसरा रावलले पाउनुभयो ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताउनुभयो । उहाँले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् आवश्यक भएको समेत उल्लेख गर्नुभयो । उहाँले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साहसिक खेल जीपलाइन, घरबास सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसप्रकारका प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । तुलसीपुर उपमहानगरपालिका–१९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताउनुभयो । छिल्लीकोटमा दुई सय ९३ वर्ष राज गरेको इतिहास छ ।
विसं १५५० देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । यहाँ विसं १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन् । विसं १८४३ कात्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले विनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभिएको थियो ।