काठमाडौँ, पुस २६ गते । प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट नेपाल पत्रकार महासङ्घका उपत्यका प्रदेश अध्यक्ष टेकबहादुर रोका (टेनिस) पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो । उहाँको नाममा स्थापित सो पुरस्कार पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।

काठमाडौँमा आज सम्पन्न शाखाको चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हालै सम्पन्न २७ महाधिवेशनबाट महासङ्घ उपत्यका प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा पछिल्लो समय महासङ्घमा निर्वाचित अन्य विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । अधिवेशनले पत्रकार राममणी घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।