काठमाडौं, पुस २६ गते । सांसदहरुले वैवाहिक स्थितिका आधारमा महिलाको समावेशी समूह परिवर्तन गरेर प्रतिनिधित्व गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाअन्र्तगतको महिला तथा सामाजिक न्याय समितिको आजको बैठकमा समिति सदस्यहरुले महिलाकोे विवाहपछिको थरका आधारमा समानुपातिक प्रतिनिधित्व गर्दा न्यायसंगत नहुनेमा जोड दिनुभएको छ ।
सांसद रोशन कार्कीले समानुपातिक निर्वाचनमा महिलाको वैवाहिक अवस्थितिले पनि प्रतिनिधित्व गर्दा असर परेको धारणा राख्नुभयो । सांसद कल्पना मियाँ कुसारीले महिलाको समावेशी समूह वैवाहिक अवस्थाले निर्धारण गर्दा प्रतिनिधित्वमा फरक पर्ने विषयमा सहमति जनाउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिक निर्वाचनभित्र क्लस्टरमा समस्या देखिएको छ । मेरो बुझाइमा विवाहपछि परिवर्तन हुने क्लस्टरबाट प्रतिनिधित्व गर्नु गलत हो ।” यस विषयमा निर्वाचन आयोगसँग समेत छलफल गर्नपर्ने उहाँको भनाइ थियो ।
बैठकमा ‘समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङ्कन’ विषयमा नेपाल इन्टिच्युट फर पोलिसी रिसर्चले तयार गरिरहेको अध्ययनमा समिति सदस्यहरुले टिप्पणी एवं सुझाव प्रस्तुत गर्दै समावेशी समूहका विषयमा थप अध्ययन गरेर निष्कर्ष निकाल्न सुझाव दिइएको थियो ।
समिति सदस्य सुशीला सिर्पाली ठकुरीले पनि समानुपातिक निर्वाचनमा समूहमा पनि कुन समूहको निर्वाचित गर्ने भन्ने विषयमा राजनीतिक दल पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।