काठमाडौँ, पुस २५ गते । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रास्वपाका सभापति लामिछानेसँग पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यो आदेश जारी भएको हो । रविविरुद्ध संगठित तवरले सहकारीको रकम ठगी गरी गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा मुद्दा दायर भएको छ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो । गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।