फाइल तस्वीरः कास्की जिल्ला अदातल
कास्की, पुस २५ गते । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । कास्की जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहनुभएका पूर्वगृहमन्त्रीसहित सात जना प्रतिवादी र सरकारी पक्षको बहस हिजो बुधवार सकिएको र आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनलागेकोले थुनछेक बहस अन्तिम चरणमा पुगेको हो ।

सहकारी ठगी प्रकरणमा पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । कार्तिक २ गते काठमाडौँको बालाजुस्थित पार्टी कार्यालयबाट गिरफ्तारीमा पर्नुभएका रास्वपा सभापति लामिछानेलाई सोही दिन सडकमार्गबाट रातरात पोखरा लगिएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ । बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए ।

जिल्ला अदालत कास्कीका स्रेष्तेदार राजन खनालका अनुसार बाँकी जवाफी बहस आज बिहीबार हुँदैछ । हिजो बुधवार जाहेरवालाको तर्फबाट जवाफी बहस भइसकेको हुँदा आज बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र आज साँझसम्ममा प्रतिवादीहरुलाई साधारण तारेखमा छाड्ने या धरौटीमा छाड्ने या पर्पक्षका लागि थुनामा पठाउने भन्ने इजलासले निर्णय गर्न सक्ने बताइएको छ । जिल्ला अदालतले आज आदेश दिन नभ्याएको अवस्थामा भोलि शुक्रबार सो सम्बन्धमा आदेश गर्ने छ । पुस १६ गतेदेखि उक्त मुद्दाको थुनछेक बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी छ ।

पूर्व उपप्रधानमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहितमाथि पोखराको सूर्य दर्शन सहकारीमा बचत भएको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्व प्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका रास्वपाका सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ छन् ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोग पत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड रुपैयाँको बिगो दावी माग गरिएको छ ।