काठमाडौँ, पुस २४ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीसम्म सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग आज आफ्नै निवासमा भएको छलफलमा उहाँले प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा पालिकाको समग्र विकासमा लागिपर्ने विश्वास दिलाउनुभयो ।

    अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरूआत गरिएको जानकारी दिँदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले त्यतिबेला पालिका मुकामसम्म पुग्नेगरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको स्वीकार गर्नुभयो ।

    सुदूरपश्चिमको परिचित अपिहिमालका नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो ।

    छलफलमा गाउँपालिकाका प्रतिनिधिले पालिकाको मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले पालिकाका सबै वडा र बस्तीमा राष्ट्रिय विद्युत् लाइन विस्तार र वडा नं ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

    सो क्रममा अध्यक्ष दाहाललाई गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, सबै वडाका वडाध्यक्ष, कर्मचारी, नेपाली कांग्रेसका पालिका सभापति शोवनसिंह लोथ्याल, माओवादी केन्द्रका पालिका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकायालगायतले हस्ताक्षर गरेको तीन सूत्रीय ज्ञापनपत्र बुझाइएको थियो ।