काठमाडौँ, पुस २३ गते । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन हुनुभएको छ ।
सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले संस्थाको श्रीवृद्धि र पत्रकारको क्षमता अभिवृद्धिमा सिङ्गो कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस सेन्टर प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले श्रमजीवी पत्रकारको हकहितमा पेसागत सङ्घसङ्गठन केन्द्रित हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्ण सापकोटाले श्रमजीवी पत्रकारका हकहितका बारेमा पेसगात सङ्गठनले एकताबद्ध पहल लिनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी नेपाल रासस शाखाका प्रतिनिधि कालिका खड्काले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।
प्रेस सेन्टर रासस शाखाका निवर्तमान अध्यक्ष रत्नकृष्ण श्रेष्ठले श्रमजीवी पत्रकारको हकहितका पक्षमा सङ्गठन क्रियाशील रहँदै आएको बताउनुभयो ।