काठमाडौँ, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहितको प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रतिवेदनमाथि १ सय १८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिवेदनमा सदस्यहरूको मौखिक धारणा राखेपछि सबैको विचारको प्रतिनिधित्व गरेर परिमार्जन गर्नेगरी आजको बैठकले प्रतिवेदन पारित गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ ।