काठमाडौँ, पुस २३ गते । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको हो ।
अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८।५ डिग्री उत्तर अक्षांश र ८७।४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।