काठमाडौँ, पुस २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । “हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,” उहाँले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।”

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । पहिलो दिनको बैठकमा प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । ओलीले पेश गरेको प्रतिवेदनमा विभिन्न दलबारे संस्थागत धारणा राखिएको छ । प्रतिवेदनमा अध्यक्ष ओली सत्ता साझेदार नेपाली काङ्ग्रेससँग नरम देखिनुभएको छ भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग सबैभन्दा आक्रामक देखिनुभएको छ ।

त्यसैगरी, राजावादीबारे पनि उहाँले कडा टिप्पणीसहित देशमा अराजकता मच्चाउन खोजिरहेको आरोपसमेत लगाउनुभएको छ ।