काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबारदेखि राजधानीमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि सुरु हुने भएको हो ।

उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुँदैछ ।
बैठकको पहिलो दिन आइतबार अध्यक्ष ष्ुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको साङ्गठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्ने उल्लेख गरिएको छ । उहाँले प्रतिवेदनमा बृहत् वामपन्थी एकतालाई प्राथामिकता दिने योजना ल्याउनुका साथै आगामी फागुन १ गतेदेखि एक महिना तराई–मधेश जागरण अभियान चलाउने बताउनुभएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ ।