काठमाडौँ, पुस २१ गते । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज आइतबार सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरू ३९ प्रतिवादीबाट कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ । हरेकको हकमा छुट्टा छुट्टै दाबी लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । प्रतिवादी कायम गरिएकामध्ये रवि र पूर्व डीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश प्रतिवादी फरार छन् । प्रतिवादीमध्ये लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
काठमाडौँमा मुद्दा दायर गरिएका कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन । यसअघि जिल्ला सरकारी वकिल कार्यालय कास्कीबाटै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भइसकेकाले दोहोरो मुद्दा पर्ने भएकाले यहाँबाट सहकारी ठगी र संगठित अपराधको कसुरमा मात्रै मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख छ ।
रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ । छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ । उनलाई ५ करोड ७८ लाख ९६ हजार ४सय ८० रुपैयाँ बिगो कायम गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो । कास्की जिल्ला अदालतमा लामिछाने लगायतको मुद्दामा थुनछेक बहस चलिरहेको छ ।