काठमाडौँ, पुस २१ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आइतबार अपराह्न १ बजेदेखि बस्ने भएको हो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुहुने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने छ ।।
यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुहुने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।