काठमाडौँ, पुस १९ गते । सङ्घीय संसद्अन्तर्गत आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने भएको हो ।

जसअनुसार अर्थ समितिको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा गरी १ वटा एजेन्डामा छलफल हुनेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । सो बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।