भक्तपुर, पुस १७ गते । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता, पत्रकारको हकहित र लोकतन्त्रको रक्षा गर्न नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व सक्षम रहेको बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले अब हुने संविधान संशोधनमा पनि नेपाल पत्रकार महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्नुपर्ने बताउनुभयो । अध्यक्ष झाले भन्नुभयो, “राजनीतिक दलहरू आफ्ना विचार र सिद्धान्तमा विभाजित हुन्छन्, उनीहरूले आफ्ना मुद्दा उठाउँछन् तर पत्रकार निष्पक्ष हुन्छ, फरक विचार र सिद्धान्त हुँदैन । पत्रकारले समाजको आवश्यकता र समस्याको पहिचान गरी समस्या समाधानका लागि समाचारका माध्यमबाट झक्झक्याँउछ ।”
जनताको पक्षमा लेखेर पत्रकारले नीति, निर्माण तहलाई झक्झक्याउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा पत्रकारले कलम चलाउनुपर्ने उहाँले बताउनुभयो । रासस अध्यक्ष झाले भन्नुभयो, “पत्रकार महासङ्घ जीवित संस्था हो । त्यसैले यस्तो संस्थामा समस्या आउँछन् । हाम्रो समस्या आफैँ समाधान गर्न सक्छाँै र नेतृत्व हस्तान्तरण गर्न सक्षम छौँ ।”
कार्यक्रममा निवर्तमान अध्यक्ष जगतकृष्ण श्रेष्ठले नवनिर्वाचित शाखा अध्यक्ष सुन्दर शिल्पकारलाई पद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ उपत्यका शाखाका अध्यक्ष टेनिस रोक्का, निर्वाचन समितिका संयोजक केदार खड्कालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।