काठमाडौँ, पुस १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिनुभएको छ । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिनुभएको हो ।

निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उहाँले दिनुभयो । सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकाले तत्काल परिणाम देखिने गरी काम गर्न मन्त्री दाहालले निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । कुनै पनि बहानामा निर्माणमा ढिलासुस्ती नगर्न उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीयको अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने गरी काम गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहेको जनाउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिले यसअघि निर्माण सामग्री जुटाउन भएका अवरोध मन्त्रीकै पहलपछि समाधान भएको जानकारी दिनुभयो । मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।