पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता डा.भीमबहादुर रावल ।
काठमाडौँ, पुस १७ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलले पत्रकार सम्मेलन गर्दै केपी ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको आरोप लगाउनुभएको छ । लामो समयदेखि पार्टी राजनीतिमा निश्कृय रहँदै आउनुभएका नेता रावललाई एमालेले पार्टीको साधारण सदस्यबाट समेत बर्खास्थ गरेलगतै आज बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीविरुद्ध जेहाद छेड्नुभएको हो ।
पूर्व गृहमन्त्री समेत रहनुभएका नेता रावलले विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौता, घरघरमा खाना पकाउने ग्यासको पाइपलाई, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान पठाउने ओलीका हावादारी गफ र नेकपा विवाद जस्ता गम्भीर विषयहरु उठाउँदै ओलीमाथि कटाक्ष प्रकट गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै एमालेका पूर्व उपाध्यक्ष रावलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ ? भनेर प्रतिप्रश्न गर्दै तीन वर्ष अघि २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा गरेको दुव्र्यवहारप्रति एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्नुभएको थियो । पार्टीको दशौँ महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टीको अध्यक्षमा उम्मेदवारी दिएकै कारण आफूलाई पार्टी भित्र विभेद गरेको नेता रावलले ठोकुवा गर्नुभयो ।
नेता रावलले आफूलाई दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको विषय कोट्याउँदै पार्टीको आठौँ र नवौँ महाधिवेशनमा तात्कालीन नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग अध्यक्षका लागि किन प्रतिस्पर्धा गरेको भनि पत्रकार सम्मेलनमार्फत् प्रश्न गर्नुभयो ।
रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर ओलीले पार्टीभित्र अराजकता फैलाएको जस्ता गम्भीर आरोप लगाउनुभएको छ । नेता रावलले पत्रकारसम्मेलनमा आफुविरुद्ध षडयन्त्र गर्दै स्पष्टीकरण सोधिएको र यही पुस १० गते पार्टीको बैठक बसेर पार्टीको साधारण सदस्यबाटै निश्कासन गरेको उल्लेख गर्नुभयो ।
एमाले पार्टीभित्र ओली प्रवृत्तिको विरोध गर्नुपर्ने उल्लेख गर्दै नेता रावलले गलत प्रवृत्तिको आलोचना गरेकै कारण पार्टीबाटै निकालिएको दावीसमेत गर्नुभयो । एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेको आरोप लगाउनुभएको छ ।
एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीको आपूmलाई पार्टीबाट निश्कासन गर्ने र स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गर्ने प्रस्तावको विपक्षमा उभिएका सात जना नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतलाई पत्रकार सम्मेलनमार्फत् धन्यवादसमेत दिनुभएको थियो ।