काठमाडौँ, पुस १७ गते । सङ्घीय संसद्अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले २०८१ साल भदौ ११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज दिउँसो २ः१५ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी रहेको छ । सो छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ ।