विराटनगर, पुस १६ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस मोरङद्वारा आज आयोजित ‘नेपाली काङ्ग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली काङ्ग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली काङ्ग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिनुभयो ।
लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न काङ्ग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।” नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
युगद्रष्टा विपी कोइरालाले आजभन्दा ४८ वर्षअघि लिनुभएको सो नीतिकै आधारमा काङ्ग्रेस र नेकपा (एमाले)ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै नेता गच्छदारले भन्नुभयो, “विगतमा काङ्ग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराउनुभयो ।”