काठमाडौँ, पुस १४ गते । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । उपत्यका विशेष कमिटीद्वारा आज यहाँ आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उहाँले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गर्नुभयो ।

प्रतिनिसभा सदस्य समेत रहनुभएका साहले भन्नुभयो, “नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।”

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवद्र्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गर्नुभयो ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दैआएको छ । पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको ¥याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।