सियोल, पुस १४ गते । दक्षिण कोरियामा आज बिहान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । कोरियाको एक समाचार एजेन्सीका अनुसार १ सय ८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।


स्थानीय समयानुसार बिहान नौ बजेतिर विमान धावनमार्गबाट चिप्लिएर दक्षिण कोरियाको दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाको सिकार भएको थियो। जेजु एयरको उक्त विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए। उनीहरू थाइल्याण्डको बैंककबाट फर्किएको बताइएको छ ।


समाचार एजेन्सीका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेर दुर्घटना भएको थियो ।

अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानको सम्बन्धमा रोयटर्सले जनाएअनुसार, उद्धार अभियान जारी रहँदा अहिलेसम्म दुई जना जीवितै फेला परेका छन्। उद्धार कार्य अझै जारी छ र उद्धारकर्ताहरुले विमानको पछाडि भागमा रहेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका बताइएको छ ।

विमानमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए। दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन । सामाजिक सञ्जालमा अपलोड भएका फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देख्न सकिन्छ । अन्य फुटेजमा कालो धुवाँको ठूलो मुस्लो आकाशमा उडिरहेको देखाइएको छ । उद्धार कार्यमा ८० दमकल कर्मचारीहरू र ३० भन्दा बढी फायर ट्रकहरू खटाइएका छन्।