भक्तपुर, पुस १२ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनुभएको छ । मध्यपुर महोत्सव–२०८१ को आज बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, संवद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफू जन्मेको ठाउँको परिवेश बुझेर अपनत्व ग्रहण गर्दै यसको संरक्षण गर्ने, आफ्ना पुर्खाले छाडेर गएका सीप, स्थानीय कला संस्कृति, उत्पादनको संरक्षण र व्यावसापयिकीकरण गरे पनि आर्थिक उपार्जनका अवसरहरु यहीँ प्रशस्त भेटिन्छन् ।”

मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवले सिङ्गो मध्यपुरवासीलाई मात्रै नभएर सिङ्गो देशवासीलाई एकै थलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउँदै आर्थिक विकास गर्न ठूलो टेवा पुग्छ ।”

विश्वमा नेपाललाई चिनाउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्र्याउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले नगरपालिकाले प्रकाशन गरेको राससकर्मी रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो मध्यपुरथिमि’को विमोचन गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसदद्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सभापति एवं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी नगरपालिकाले आयोजना गरेको महोत्सवमा पाँच सयभन्दा बढी स्टलहरु रहेको बताउनुभयो । उहाँले महोत्सवभरि २५ ठाउँमा सांस्कृतिक नाच, ४५ पाटीपौवामा प्रत्यक्ष रुपमा दाफा भजनको प्रस्तुति, २५ ठाउँमा विभिन्न संस्कृति समेटेको बाजा प्रदर्शनी, चपाचोमा माटोको भाँडाको प्रदर्शनी, १६ ठाउँमा माटोको भाँडा बनाउँदै गरेको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने, एक सय पाँच ठाउँमा स्थानीय घरेलु उत्पादन र हस्तकलाका सामग्रीहरु, ५० ठाउँमा स्थानीय परिकारहरु तीन ठाउँमा अ‍ैला ९रक्सी० उत्पादन र एक ठाउँमा नेवाः भ्वय अर्थात् नेवारी भोजको प्रदर्शनी राखिएको बताउनुभयो ।

विभिन्न ठाउँमा भैल, नीलबाराही नाच, जिब्रो छेड्ने जात्रा, व्रतबन्ध र बेलविवाहको डमी प्रदर्शन गर्नाका साथै विभिन्न जात्रा, पर्व, सम्पदालगायतका फोटो प्रदर्शनी गरिएको छ ।

महोत्सवमा ५५ थरीका गेडागुडी, जन्मदेखि मृत्युसंस्कारसम्म आवश्यक पर्ने भ्वयः ९भोज०का परिकारको प्रदर्शनी, किरात, लिच्छवी, मल्लकालीन मुद्राहरुको प्रदर्शनी, एक सय ५३ देशका मुद्राको प्रदर्शनी लायकु दरबारमा राखिएको, लायकुमै यहाँका विभिन्न जात्रामा प्रयोग गरिने खटहरुको प्रदर्शनी गरिएको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगदेशमा तरकारी प्रदर्शनी, टिगनीमा चिउरा उत्पादन र प्रदर्शनी, परम्परागत देल, शैक्षिक एवं पुस्तक प्रदर्शनीसमेत रहेको बताउनुभयो ।

पर्यटकीयस्थल भक्तपुर, नगरकोट, चाँगुनारायणदेखि धुलिखेल जाने मुख्य नाका मध्यपुरथिमि भए पनि यहाँ पर्यटकलाई आकर्षित गर्न नसकेको भन्दै उहाँले महोत्सवले पर्यटकीय गन्तव्य बनाउन टेवा पुग्ने बताउनुभयो । महोत्सवबारे जानकारी दिँदै नगरपालिकाका विभागीय प्रमुख एवं सूचना अधिकारी केशव सिलवालले २६ वर्षपछि मध्यपुरथिमि नगरपालिकाले तीनदिने ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गरेको बताउनभयो । उहाँले शङ्खधर चोकको मध्यपुर छिर्ने गेटदेखि बालकुमारी, दुईपोखरी, चपाचो, नगदेश, बोडे हँुदै नीलबाराही टिगनीसम्मका चोक, गल्ली, घरघरमा महोत्सवका विभिन्न दृश्यहरु देख्न सकिने भन्दै उहाँले सिङ्गो मध्यपुरथिमिका पुराना बस्तीहरु महोत्सवमय बनेको बताउनुभयो । 

छब्बीस वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालीन युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहले उद्घाटन गर्नुभएको र आजदेखि पुस १४ गतेसम्म महोत्सव चल्ने मध्यपुर महोत्सव दोस्रो महोत्सवका रुपमा रहेको बताउनुभयो ।