काठमाडौँ, पुस ११ गते । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको नवौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान तथा जिम्मेवारी हस्तान्तरण गरिएको छ । भद्रकालीप्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निर्वाचन समितिका संयोजक राजु शाक्यले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
यसैबीच शाखाका निवर्तमान अध्यक्ष पवित्रा गुरागाईंले अध्यक्ष कृष्ण सापकोटालाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै राससको उन्नयनमा नयाँ कार्यसमितिले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहनुभएका झाले व्यवस्थित, व्यावसायिक, मर्यादित र श्रमको सम्मान गर्ने महासङ्घको अभियानमा रासस प्रतिष्ठानले सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयो ।
महाप्रबन्धक सिद्धराज राईले महासङ्घले श्रमअधिकारसँगै राससको सुदृढिकरणमा पनि योगदान दिनुपर्नेमा जोड दिनुभयो । रासस व्यवस्थापनले कर्मचारीको वृत्तिविकासका लागि स्रोत सुनिश्चित गरेको र यस कार्यमा महासङ्घलगायत राससमा क्रियाशील पेसागत सङ्गठनले सकारात्मक सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले महासङ्घको छविलाई उजिल्याउन, पेसागत मर्यादा र पत्रकारको वृत्तिविकासका सवालमा रासस शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । महासङ्घ रासस प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष पवित्रा गुरागाईंले नेतृत्वले जिम्मेवारी ग्रहण गर्नुजत्तिकै हस्तान्तरण गर्नुपनि महत्वपूर्ण भएकाले सो कार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष कृष्ण सापकोटाले महासङ्घको नेतृत्व, अग्रज तथा रासस व्यवस्थापनसँग हातेमालो गर्दै पत्रकारिताको विकास र श्रमअधिकारका सवालमा आफूहरु सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष सूर्यचन्द्र बस्नेत, निर्वाचन समितिका संयोजक राजु शाक्यलगायतले विगतका राम्रा कामको निरन्तरतासँगै थप रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले राससलगायत प्रतिष्ठान र आम पत्रकारहरुसँग सहकार्य गर्दै श्रमजीवीको हकहित रक्षा र महासङ्घको गरिमालाई उँचो बनाउन लागिपर्ने बताउनुभयो ।
गत मङ्सिर २८ गते सम्पन्न निर्वाचनमा अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मितिबाट चयन गरिएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्णप्रसाद मिश्र, महिला उपाध्यक्षमा अभिलाषा पोखरेल, सचिवमा चेतबहादुर ९सिबी० अधिकारी, सहसचिवमा कुमारीकमला पौडेल, समावेशी सहसचिवमा गीता पराजुली, कोषाध्यक्षमा नवीन पौडेल चयन हुनुभएको छ । यसैगरी, सदस्यमा सिर्जना राई (थापा), रेशमा शाक्य, प्रमोद कार्की र रोशा बस्नेत तथा परिषद् सदस्यमा प्रकाश सिलवाल र छविलाल कुमाल (समावेशी) चुनिनुभएको थियो ।