काठमाडौँ, पुस ११ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक भएको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १३२ औँ जन्म जयन्तीका अवसरमा आज बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले समाजवाद निर्माणको आधार तयार पार्न माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

सरकारको नेतृत्वमा आफूहरुले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नेपाली मौलिकता अनुसारको समाजवाद निर्माण गर्ने रणनीति अनुसारै भएको प्रचण्डको भनाइ छ । यस्तै माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रूपमा रहँदै आएको उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न सङ्घर्षरत छौं, विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको उल्लेख गर्नुभएको छ ।

May be an image of text