काठमाडौँ, पुस ११ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार आज बिहिबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि आज बिहान ११ बजे बस्दैछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रमा समितिको गरेको स्थलगत अनुगमनको क्रममा देखिएका समस्या र समाधानका विषयहरूमा छलफल हुनेछ ।
यसैगरी, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य÷प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ ।
यसैगरी, आज दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।