तनहुँ, पुस ९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानुमा आजदेखि सुरू भएको प्रथम भानु नगर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले मेला महोत्सव स्थानीय वस्तुको बिक्री र बजारीकरणका लागि सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले मेला महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताउँदै आर्थिक समृद्धि अहिलेको मुख्य लक्ष्य रहेको बताउनुभयो । भानुमा आयोजित महोत्सवले नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजना तथा भानु नगरपालिकाको सहआयोजनामा सुरू महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठले भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा साना तथा घरेलु उत्पादनहरूलाई विशेष प्राथमिकता दिने श्रेष्ठको भनाइ थियो । 

महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिकलगायत प्रदर्शनीहरू राखिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा एक सय २० वटा कक्ष रहनेछन् । प्रवक्ता श्रेष्ठका अनुसार स्वदेशी र विदेशी पर्यटक गरी एक लाखभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।