काठमाडौँ, पुस ९ गते । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई सम्मान गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा आज दुवैलाई सम्मान गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले दोसल्ला र प्रशंसापत्रसहित दुवैलाई सम्मान गर्नुभयो । एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिपबाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य गरी आठ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक थिए । कुशल १०औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता पनि हुन् ।
ललितपुर महानग प्रमुख महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकामा खुसी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रलाई पहिचान गराउनसक्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
यस्तै संस्थापक प्रिन्सिपल ढुङ्गानाले नेपालमा पनि विस्तारै खेलकुदमा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताउनुभयो ।