काठमाडौँ, पुस ८ गते । नेपाली काङग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताउनुभएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।”

उहाँले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली काङग्रेस अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै काङग्रेस गन्तव्यमा पुग्ने उहाँले जिकिर गर्नुभयो ।