हेटौँडा, पुस ८ गते । दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले हेटौँडा उपमहानगरका प्रमुख मिना लामालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गर्नुभयो ।
हेटौँडा–१५मा अवस्थित चुरियामाई मन्दिर नजिकै रहेको उक्त सुरुङमार्गको जीर्णोद्धारपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्री अमनकुमार मास्केले जानकारी दिनुभयो । सुरुङमार्ग हस्तान्तरण भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गरिने उपमहानगर प्रमुख लामाले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले रु तीन करोड ६५ लाखको लागतमा सुरुङमार्गको जीर्णोद्धार गरेको हो । कूल दुई सय २५ मिटर लम्बाईको सुरुङको चौडाइ दुई दशमलव पाँच मिटर र उचाइ तीन मिटर रहेको छ ।
विसं २०७८ वैशाखमा सुरुङमार्ग मर्मत सुरु भएकामा २०८० को असोजमा सम्पन्न भएको थियो । जीर्णोद्धार भएको लामो समयसम्म पनि स्थानीय तहलाई हस्तान्तरण नहुँदा अवलोकनका लागि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाइसकेको छ । कार्यविधिमा सुरुङ अवलोकनका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १२०, पाँच वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु २० प्रवेश शुल्क लिने व्यवस्था गरिएको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सुरुङमार्गमार्फत स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गरिएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै स्थानीय तहको आम्दानी पनि बढ्ने छ”, उहाँले भन्नुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले सुरुङमार्गमार्फत यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरे पहाडलाई खोपेर विसं १९७४ मा पाँच सय मिटर लामो सुरुङ निर्माण गरिएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जवराले यो सुरुङमार्ग निर्माणका लागि देशकै पहिलो इञ्जिनियर डिल्लीजङ्ग थापालाई जिम्मेवारी दिनुभएको थियो ।
त्यस समयमा सुरुङमार्ग निर्माणको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भारतको रक्सौल र नेपालको सुक्खा बन्दरगाहाका रुपमा विकास गर्न सकिने भीमफेदीबीचको दुरी घटाइ सहज पहुँच निर्माण गर्नु थियो । इन्जिनियर थापाको योजना र अगुवाइमा चुरियामाई सुरुङ मार्गसँगै चारखाल अड्डा, घण्टाघर, चन्द्र नहरलगायत महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएका थिए ।
चुरे पर्वत कटान गरी सडक निर्माण गर्नुपूर्व विसं २०१८र२०१९ सम्म चुरियामाई सुरुङ मार्ग भएर नै जिप, लहरीलगायत साना सवारी आवतजावत गर्दै आएका थिए ।
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्नेगरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
त्रिभुवन राजपथ निर्माण हुनुपूर्व रक्सौलबाट पथलैया, चुरे, हेटौँडा हुँदै भीमफेदीसम्म सवारी साधनमा र त्यहाँबाट मानिस पैदल हिँडेर काठमाडौँसम्म तथा सवारी साधनहरू काठमाडौँ प्रवेश गर्ने सडक निर्माण नभइसकेकाले मानिसलाई भरिया लगाएर पु¥याइन्थ्यो । चुरियामाई सुरुङमार्ग सिमेन्टको प्रयोग नगरी तत्कालीन परम्परागत प्रविधिसँगै चुना र सुर्कीको प्रयोग गरी निर्माण भएको हो ।