काठमाडौँ, पुस ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताउनुभएको छ । आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उहाँले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उहाँले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राख्नुभयो । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।   

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताउनुभयो । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाउनुभयो । 

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।