फाइल तस्वीर बामपन्थी नेता बामदेव गौतम ।
काठमाडौँ, पुस ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभाका सदस्य एवम् बामपन्थी नेता बामदेव गौतमबीच भोलि बिहीबार भेटवार्ता हुनेभएको छ । पार्टी प्रवेश गर्ने विषयमा दुई नेताहरुबीच छलफल हुन लागेको हो ।
दुई शीर्ष नेताहरुबीच कुराकानी पछि मात्रै गौमतले सो पार्टीमा प्रवेश गर्ने नगर्ने निर्णय गर्नुहुने बताइएको छ । पार्टी प्रवेशको विषयमा विस्तृत छलफल पश्च्यात् मात्रै एकीकृत समाजवादीमा जाने नजाने भन्ने विषयमा निर्णय गर्ने नेता गौतम निकट स्रोतले बताएको छ ।
हिजो मङ्गलवार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले नेता गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको थियो । एकीकृत समाजवादीको उक्त निर्णय सार्वजनिक भएलगत्तै नेता गौतमले आफू सहजै सो पार्टीमा नजाने प्रतिक्रिया दिनुभएको थियो ।
नेता गौतमलाई एकीकृत समाजवादी र एमालेमा भित्र्याउन प्रयासहरु नभएका होइनन् । नेता गौतमले एमाले परित्याग गरी आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ गठन गर्नुभएको थियो ।
नेता गौतमले एमाले र एकीकृत समाजवादीसँग पटक पटक छलफल र संवाद गरेता पनि कुन पार्टीमा प्रवेश गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय गर्नसक्नुभएको छैन ।