बैतडी, मङ्सिर २२ गते । बैतडीमा जारी २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एक दिवसीय क्रिकेट प्रतियोगितामा टिम एनआरवाइसीले विजयी सुरूवात गरेको छ । सुखद् सुरूवात गर्ने क्रममा एनआरवाइसीले त्रिपुरा क्रिकेट क्लबलाई हरायो ।

जितका लागि पाएको एक सय ७७ रनको लक्ष्य एनआरवाइसीले २७ दशमलव एक ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । जसमा सुरज बोहराले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन जोड्दै म्यान अफ द म्याच भए । त्रिपुराका त्रिलोक महरले चार विकेट हात पारे ।

यसअघि दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा ३३ दशमलव चार ओभरमा १७६ रनमा अलआउट भयो । यस टोलीका महेन्द्र मार्कण्डले सर्वाधिक ४८ रन जोडे ।

बलिङमा एनआरवाइसीका भुपेन्द्र चन्दले ४ विकेट लिए । एनआरवाइसीले विजयी सुरूवात गर्दा त्रिपुराको यो दोस्रो हार हो । दोस्रो हारसँगै त्रिपुरा रेलिगेसन तथा प्लेट च्याम्पियनसिपको खतरामा परेको छ ।

त्रिपुराले अब दुई खेल खेल्न बाँकी छ । घटुवाबाट बच्न उसले अबका दुईटै खेल जित्नैपर्ने दबाव छ भने अन्य टोलीको प्रदर्शनमा पनि भर पर्नेछ ।

गत वर्ष सम्पन्न बिडिसिए प्रतियोगिताबाट सेमिफाइनल पुगेर सोझै इलाइट कप खेल्न लागेको हो । त्रिपुरासहित एनआरवाइसी,एकेडेमी र निङ्गलाशैनी इलाइट कप खेल्न लागेका हुन् । पञ्चकोटी प्लेट च्याम्पियन भएर इलाइट कपमा पुगेको हो ।

लिग चरणका खेलपछि अङ्कतालिकाको पुछारमा रहने टोली प्लेट च्याम्पियनसिपमा घटुवा हुनेछ भने शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २० गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर ३० गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार र म्यान अफ द सिरिजलाई रु १५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितालाई प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा लिइएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई एक विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।