चीन, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावाले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ ९बिआरआइ० सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।