बेइजिङ, मङ्सिर १९ गते । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो । उक्त फ्रेमवर्कमा सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजना छन् ।

जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन छन् । साथै, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स छ ।