बेइजिङ, मङ्सिर १९ गते। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभलिने बताउनुभएको छ ।
यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरुभएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढाहुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिनसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।
प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधनगर्ने कार्यक्रम छ ।