तनहुँ, मङ्सिर १८ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ ।”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब नयाँ ढङ्गबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गर्नुभयो । माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइरालाले पार्टीप्रति जनताको भरोसालाई कायम राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्मेलनले नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।