सिरहा, मङ्सिर १७ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं। ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उहाँले भन्नुभयो, “वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौं । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं ।” पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको उहाँको भनाइ थियो ।
नेता श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताउनुभयो । “राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो”, उहाँले भन्नुभयो, “सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनुु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मूल अभिष्ट र मुख्य कार्यभार हो ।”
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरीलगायत नेताहरु प्रशिक्षकका रुपमा सहभागी हुनुहुन्छ ।
माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षिण दिइने जनाइएको छ ।