फाइल तस्वीर
काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तहको रिक्त ४१ स्थानमा हिजो आइतबार सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम घोषणाको अवस्थामा पुगेको छ । यो समाचार तयार पार्दासम्म ३५ स्थानको नतिजा आइसकेको छ भने अब बाँकी ६ स्थानको नतिजा आउनेक्रममा रहेको छ ।
यद्यपि, दोलखाको गौरिशङ्कर गाउँपालिका उपाध्यक्षको मत गणना अझै सुरु हुन सकेको छैन । त्यहाँका मतदान अधिकृतका अनुसार अब केहीबेरमा मत गणताको काम सुरु हुने भएको छ । घोषणा भएको ३५ स्थानमध्ये नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र रास्वपाले पनि एक÷एक सिटमा विजय प्राप्त गरेका छन् ।
उपनिर्वाचन भएका मध्ये बाँकी छ स्थानमा मत गणनाको काम जारी छ । निर्वाचनको परिणाम आउन बाँकी रहेका स्थानीय निकायमध्ये काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को वडाध्यक्षको मत गणनाको काम जारी छ ।
यसैगरी उदयपुरको.बेलका वडा नम्बर ९, दोलखाको गौरी शङ्कर गाउँपालिकाको उपाध्यक्ष, हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्ष र रुकुमपूवको पुथउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को मत गणताको काम जारी छ । यी सबै स्थानीय तहको नतिजा आज साँझसम्म आउने बताइएको छ ।