धनुषा, मङ्सिर १७ गते । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली काङ्ग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५,  राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गर्नुभएको छ । 

उपनिर्वाचनः नुवाकोटको ककनी –२ मा माओवादी केन्द्रका घिमिरे बिजयी
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे ९मिलन० निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गर्नुभएको छ । साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक÷एक मत पाउनुभयो । 

आइतबार भएको उपनिर्वाचनमा तीन हजार एकसय ७५ मतदातामध्ये दुई हजार दुई सय ५५ ले मतदान गरेका थिए । जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।