ताप्लेजुङ, मङ्सिर १७ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा उहाँले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गर्नुभयो ।
कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो । जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनः दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी
दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गर्नुभयो ।
निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए ।
साथै दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ । महाबुका छ वटै वडाका नौ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा छ हजार नौ सय ८९ मत खसेको थियो ।