काठमाडौँ, मङ्सिर १६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा सङ्क्रमण भइरहेको र सङ्क्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले एड्स नियन्त्रणको सवालमा स्वास्थ्य मन्त्रालय सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।