फाइल तस्वीर
काठमाडौँ, मङ्सिर १३ गते । हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा सिधा उडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको निजी क्षेत्रको हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने कुराको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले हो ।
उक्त एयरलाइन्सले आउँदो डिसेम्बरभित्रै पोखराबाट ल्हासा उडान थाल्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ । ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्ने गरी हिमालयले प्राधिकरणसँग अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै उक्त एयरलाइन्सले पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु गर्ने जनाइएको छ ।
उक्त एयरलाइन्सले सातको एक दिन सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा जाने कार्यतालिका बनेको छ । मङ्गलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ ।
गण्डकी प्रदेशको कास्कीस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आए पनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।