काठमाडौँ, मङ्सिर १३ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा नेतृत्वको टोली चीन भ्रमणमा जान लाग्नुभएको हो ।

मन्त्री राणाले आज बिहिबारदेखि १५ गते शनिबारसम्म चीन भ्रमण गर्नुहुने छ ।भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कने कार्यतालिका छ ।