काठमाडौँ, मङ्सिर १३ गते । आगामी आइतबार हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरूप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो ।

निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भए नभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।