काठमाडौँ, मङ्सिर ११ गते । विश्व मानचित्रमा नेपाल साहसिक खेलकुदका लागि महत्वपूर्ण गन्तव्यका रुपमा परिचत रहँदै आएको छ । बर्सेनि हजारौँ आरोही हिमाल आरोहणलगायतका साहसिक गतिविधिमा सहभागिता जनाउन नेपाल आउने गरेका छन् । विश्वको विभिन्न मुलुकका आरोहीहरुलाई गन्तव्यसम्म लैजाँदै सफलता दिलाउन खासगरी हिमाली भेगका शेर्पा, तामाङ समुदायका पर्वतीय पथ प्रदर्शकहरुले रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका छन् । सगरमाथा आरोहण गर्ने आरोहीहरुमा सबैभन्दा बढी सङ्ख्या नेपालीकै रहेको छ ।

यस्तै, अन्य मुलुकमा समेत नेपाली पथप्रदर्शकले यस्ता साहसिक गतिविधिमा सक्रियता जनाउने गरेका छन् । तर उच्च भागमा खेलाइने अन्तर्राष्ट्रिय खेलकुद गतिविधिमा नेपालको सहभागिता उल्लेख्य हुन सकेको छैन । वाल क्लाइम्बिङ जस्ता प्रतियोगिता ओलम्पिकमा समावेश गरिएको छ । यस्तै हिउँमा खेलाइने स्की जस्ता साहसिक खेलकुद हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा समावेस गरिएको भएता पनि नेपालले हालसम्म त्यस्ता खेलकुदमा कुनै पहिचान कायम गर्न सकेको छैन् ।  पर्याप्त सम्भावना भएर पनि नेपालमा यस्ता साहसिक खेलको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको वास्तविकता छ । हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडाकाँडामा पर्ने हिउँले स्की खेललाई सम्भावना प्रस्टाउँछ  । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने हिमाल, हिमचुली र मौसममा पर्ने हिउँका कारण स्की नेपालका लागि धेरै सम्भावना भएको खेल हो ।

नेपालमा हालसम्म पनि सयौं यस्ता हिमालहरु छन्, जसको हालसम्म नामाकरण गर्न समेत सकिएको छैन । यसैगरी विश्वमै प्रसिद्धी कमाएका विभिन्न हिमालहरुमा पनि पर्वतारोहणवाहेक हिउँमा गर्न सकिने विभिन्न गतिविधि खासै सञ्चालन हुन सकेका छैन । संसारमा रहेका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठ वटा हिमाल नेपालमै पर्दछ । यसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा पनि एक हो । नेपालमा रहेका हिमालहरु आरोहणका लागि विश्व प्रसिद्ध मानिएको छ । यस्तै पदयात्राका लागि पनि नेपालका महत्वपूर्ण हिमालहरु आकर्षक गन्तव्यका रुपमा परिचित छन् । विगत केही वर्ष अघिदेखि नेपालका केही हिमालमा खेलाइने स्की जस्ता खेल पनि विश्वमा लोकप्रिय बन्दै गइरहेको छ । 

नेपालका अन्नपूर्ण, मनास्लु, धवलागिरिलगायतका हिमालमा स्की खेल खेलाइने गरिएको छ । धवलागिरि पुठा हिउँचुली स्कीका लागि लोकप्रिय मानिएको छ । यसैगरी केही वर्षदेखि मेरापिक, यालापिकजस्ता हिमालमा आरोहण तथा स्की गराइने गरिएको छ । थोरङ्गला पास, मुक्तिनाथ जस्ता पर्वतीय क्षेत्रमा पदयात्रा तथा स्की साथसाथै गराइने गरिएको छ । अछामको खप्तड, बागलुङको ढोरपाटन र दोलखाका विभिन्न स्थामा स्की खेल्न सकिन्छ । 

राष्ट्रिय स्की च्याम्पियनसीपको तयारी 

नेपालका हिमाली भेगमा विगत केही वर्षदेखि स्की खेलसम्बन्धी प्रतियोगिता आयोजना हुँदै आइरहेको छ । अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । नेपाल स्की सङ्घले आगामी जनवरी महिनाको अन्यसम्ममा स्की खेलको पाचौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको जानकारी सार्वजनिक भएको छ । नेपालमा सन् २००६ मा स्की सङ्घको स्थापना भएको थियो । सङ्घले २०७२ सालको भूकम्पपछि रसुवाको क्यानजिङमा राष्ट्रिय स्की च्याम्पियनसीपको आयोजना गरेको थियो । 

विगतमा राष्ट्रिय प्रतियोगिता भैसकेको मुस्ताङमा यसपालि पनि प्रतियोगिता गर्ने लक्ष्य राखिएको छ । स्की प्रतियोगिता सञ्चालन गर्न सकिने अन्य स्थानको पनि खोजी भैरहेको छ । दुई वर्षदेखि स्कीको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएको छैन । एमेच्योर खेलाडीहरुले स्की खेल्न सक्ने सम्भावित स्थानहरुमा हिउँ नपरेको कारण प्रतियोगिताको आयोजना गर्न नसकिएको हो । 

ओलम्पिकमा प्रतिनिधित्व 

नेपालले सन् २००२ को हिउँदे ओलम्पिकमा पहिलोपटक स्की खेलमा प्रतिस्पर्धा गरेको थियो । त्यतिखेर जयराम खडकाले डेढ किलोमिटर दूरीको प्रतिस्पर्धा चार मिनेट ४८ दशमलव ४ सेकेण्ड टुङ्ग्याई ७० औं स्थान प्राप्त गर्नु भएको भने १० किलोमिटर दूरीको प्रतिस्पर्धामा भने ७९ औं स्थान हासिल गर्नु भएको थियो । त्यसपछि नेपालको विभिन्न हिउँदे ओलम्पिक तथा हिउँदे एसियाली खेलकुदमा सहभागिता रहेको थियो । तर त्यतिखेर विदेशमा रहेका नेपालीहरुलाई नेपालको तर्फबाट प्रतिनिधित्व गराइने गरिएको थियो । सन २०१४ देखि विभिन्न कारणले नेपालको हिउँदे ओलम्पिकमा सहभागिता हुन सकेको छैन । 

सन् २०१४ मा रसियाको सोचीमा आयोजित हिउँदे ओलम्पिकमा स्विजरल्याण्डमा बस्ने नेपाली दाछिरी शेर्पाले नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । त्यतिखेर १५ किलोमिटरको क्रस कन्ट्री स्की प्रतियोगितामा उहाँ ८६ औं हुनु भएको थियो । शेर्पाले विभिन्न दुई वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । सोची ओलम्पिकपछि दुई वटा हिउँदे ओलम्पिकमा नेपालको सहभागिता हुन सकेन । कोभिडको प्रकोपलगायत अन्य कारणले हिउँदे ओलम्पिकमा सहभागी नभएको नेपालले सन् २०२६ मा इटलीको टोरिनोमा आयोजना हुने हिउँदे ओलम्पिकमा भाग लिनका लागि नेपाली खेलाडीको छनोट गरिने भएको छ । 

चीनको डारबिनमा यही फेब्रुवरीमा हुन गइरहेको हिउँदे एसियाली खेलकुदमा पनि नेपालले भाग लिने निश्चित भैसकेको छ । यसअघिका हिउँदे एसियाली खेलकुदमा पनि नेपाली स्की खेलाडीहरुले खेल्दै आइरहेका छन् । बिगतमा जस्तो विदेशमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउनु पर्ने अवस्था अहिले छैन । नेपाल स्की सङ्घले नेपालमै खेलाडीहरुको उत्पादन गरी हिउँदे एसियाली खेलकुद, युथ ओलम्पिक जस्ता प्रतियोगितामा भाग लिन पठाउने गरेको छ । तर नेपालमा स्की खेलका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न सकिएको छैन । नेपालमा स्की प्रशिक्षण केन्द्र नभएकाले खेलाडीहरुलाई विदेशमा प्रशिक्षणका लागि पठाउनु पर्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्तिको आधारमा खेलाडीहरुले यस्ता महत्वपूर्ण प्रशिक्षण हासिल गर्ने अवसर पाउने गरेका छन् । 

पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सक्रियता 

नेपालमा पर्वतारोहणसम्बन्धी स्नातकोत्तर स्तरसम्म अध्यापन सञ्चालन गर्दै आइरहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले पनि स्की खेलको विकासका लागि प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक बन्नका लागि स्कीको प्रशिक्षण अनिवार्य भएकाले प्रतिष्ठानले विगतमा भारतको मोनालीमा पथप्रदर्शकहरु पठाउने गरेको थियो । हाल यस्तो प्रशिक्षणका लागि नेपाली प्रशिक्षकहरुलाई स्विजरल्याण्ड तथा फ्रान्समा पठाउने गरिएको छ । यसबाहेक विदेशमै स्कीसम्बन्धी प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय पथप्रदर्शक बन्नेहरु पनि बढ्दैछन् । यस्ता तालिम प्राप्त जनशक्तिलाई हिउँदे ओलम्पिक तथा एसियाली खेलकुदमा खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउनसके नेपाल पदकको दाबेदार बन्न सक्ने सम्भावना नकार्न सकिँदैन । 

नेपालमा स्की खेलको प्रचुर सम्भावना भए पनि त्यसको विकास तथा विस्तारका लागि सरकारको सक्रियता अपेक्षित मानिएको छ । स्कीको सम्भावना भएका हिमालहरु खुल्ला गर्दै त्यस्ता गतिविधिमा इच्छुक नेपालीहरुको संलग्नता पनि बढाउँदै लैजानु पर्दछ । साहसी आरोहीका रुपमा विश्व कीर्तिमान कायम गरिसकेका नेपालीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सरकारका तर्फबाट ठोस कदम अपेक्षित मानिएको छ । आगामी दिनमा यस्ता तालिम प्राप्त जनशक्तिलाई खेलाडी तथा प्रशिक्षकका रुपमा सहभागी गराउन सके नेपालले हालसम्म पाउन नसकेको ओलम्पिक पदकको दाबेदार बन्नसक्ने सम्भावना रहेको छ । 

हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न सकिन्छ । स्की तथा स्नोबोर्डिङ नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिन्छ । दक्षिण कोरिया, चीन, स्विट्जरल्याण्डलगायत पहाड भएका देशले साहसिक खेलकै माध्यमबाट पर्यटक भित्र्याएर करोडौँ नगद जम्मा पारेका छन् । स्की खेल विशेषगरी युरोपमा निकै लोकप्रिय छ । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्ने र यसतर्फ आकर्षण बढ्ने देखिन्छ । (लेखक खेल पर्यटनका जानकार हुनुहुन्छ)